काठमाडौं । टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा आफ्नै कीर्तिमानमा सुधार गर्दै बाहिरिनुभएको छ ।
टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकाल्नुभयो ।
गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उहाँ तेस्रो हुनुभयो ।
गौरिकाले सन् २०१९ मा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा १ मिनेट ००.६२ सेकेण्डको समय निकाल्नुभएको थियो । २०१९ मा नेपालमै भएको १३ औं सागमा सर्ट कोर्समा भने गौरकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाउनुभएको थियो ।
लगातार दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी गौरिकाले अर्का पौडी खेलाडी एलेक्ससंगै टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोक्नुभएको थियो ।
२०१६ को रियो ओलम्पिकमा उहाँ सबैभन्दा कान्छी खेलाडी बन्नुभएको थियो । पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले भने आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुभएको थियो ।
टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले सहभागिता जनाएका थिए । जसमध्ये चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । अब एथ्लेटिक्सकी सरस्वती चौधरीले शुक्रबार महिला १०० मिटरमा प्रतिस्पर्धा गर्नुहुनेछ ।