काठमाडौं । यसपालि पनि कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यसपटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताउनुभयो ।
बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा सदस्य सचिव अर्यालले भन्नुभयो, “अर्को ठाउँमा जानुपर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।”
कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभई भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको सदस्य-सचिव अर्यालले बताउनुभयो ।
उहाँका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००, एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन् ।
कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ ।
बैठकमा सांसद खगराज अधिकारीले होम सेन्टरबाट परीक्षा लिंदा त्यहीँकै निरीक्षक नहुने व्यवस्था गर्न सुझाव दिनुभयो । “नत्र चोरेर पास गराउने पनि हुन सक्छ,” अधिकारी भन्नुभयो ।
सांसदहरूका प्रश्नको जवाफ दिंदै शिक्षा मन्त्रालयका सचिव रामकृष्ण थपलियाले सिसिएमसीसीको निर्णयअनुसार परीक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो ।




















