काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय सत्तागठबन्धनमा सल्लाह नै नगरी एकलौटी ढंगले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्ति गरेकोमा तीव्र असन्तुष्टि जनाइएको छ । श्रेष्ठको नियुक्तिको विषयलाई लिएर नेपाली कांग्रेसमै असन्तुष्टि भइरहेको बेला सत्तागठबन्धनभित्रै तीव्र विरोध भएपछि प्रधानमन्त्री देउवा थप अप्ठ्यारोमा पर्नुभएको छ ।
पाँचदलीय सत्तागठबन्धनको बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमाथि ‘अट्याक’ भयो, के गर्ने होला ? भन्दै गुनासोसमेत गर्नुभयो ।
प्रधानमन्त्री देउवाले खोप ल्याउन भइरहेको ढिलाइको प्रश्न आइरहेको बहाना गरेर विवादित व्यक्ति उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । त्यसको चौतर्फी विरोध भइरहेको छ । श्रेष्ठ गलत व्यक्ति भएको भन्दै कलाकार दीपकराज गिरीदेखि लिएर प्रा डा गोबिन्द केसीसम्मले विवादित श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले समेत सरकार सञ्चालनको लागि बनेको कार्यदलले काम गर्दागर्दै, पार्टीभित्र पर्याप्त छलफल नै नभई उनलाई नियुक्ति गरेको भन्दै देउवाको गल्तीलाई ढाकछोप गर्दै कांग्रेसका तर्फबाट बैठकमा माफी नै माग्नुभएको थियो ।