काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि कोरोनाविरुद्धको थप खोप सहयोग गर्ने अमेरिकालाई आग्रह गर्नुभएको छ । उहाँले नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीलाई सो सहयोग गर्न आग्रह गर्नुभएको हो ।
मंगलवार अर्थमन्त्री शर्मालाई भेट्न पुग्नुभएका राजदूत बेरीलाई मन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको मुख्य प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण गर्न आग्रह गर्नुभयो ।
भेटका क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताउनुभएको छ । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोगका लागि सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारका तर्फबाट धन्यवाद दिनुभयो ।




















