काठमाडौं । बाढीपहिरोग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र पेश गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले बाढीपहिरोबाट आफूहरु बिचल्लीमा परेको उल्लेख गर्दै उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।
पीडितहरुको पीडालाई सम्बोधन गर्न र पुनर्वाससहितको उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराइएको मेलम्चीका बाढीपीडित सागरकुमार श्रेष्ठले बताउनुभयो ।
उनीहरुले घरवारविहीन भएका, रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकाहरुलाई तत्काल आर्थिक राहतको प्रवन्ध गर्न माग गरेका छन् । त्यसैगरी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्ध निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको स्थानीय श्रेष्ठले बताउनुभयो । पीडितहरुले मेलम्ची नदीलाई पुरानै धारमा कायम राख्न, बैंकबाट ऋण लिएर लगानी गरी व्यवसाय गरेकाहरुको व्याज मिनाह गर्न, विद्युत महसुलमा छुट दिन, त्यहाँका उद्योगी, व्यापारी, विद्यार्थीका लागि अल्पकालीन र दीर्घकालीन राहतको घोषणा गर्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् ।
उनीहरुले सरकारले सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद समेत दिएका थिए । उनीहरुले प्रधानमन्त्री देउवालाई बाढीग्रस्त क्षेत्रको अवलोकन गर्न पनि माग गरेका छन् । गत असार १ गते आएको बाढीमा परी मेलम्ची, हेलम्बु र पाँच पोखरीमा दर्जनौंको ज्यान गएको थियो भने कयौँ घरबारविहीन हुनुका साथै उनीहरुको हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो ।