काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत आज भएको खेलमा ६१६ दशमलब आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो ।
सो क्रममा उहाँले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोड्नुभयो ।
परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाउनुभएको थियो । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो । परियार सागमा चौथो हुनुभएको थियो । उहाँ टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहनुका साथै प्रतियोगिताबाट बाहिरिनुभएको छ ।
परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उहाँ वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट हुनुभएको हो ।
सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव नौ अङ्कका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव सात अङ्कसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव चार अङ्कका साथ तेस्रो हुनुभयो ।
टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । टोकियो ओलम्पिक यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।