काठमाडौँ । शिक्षाको ज्योति प्रदान गरी अन्धकारलाई चिर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज मुलुकभर गुरुपूर्णिमा मनाइँदैछ ।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । अन्धकारको नाश गरी जीवनमा उज्यालो ल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेत मानेको छ । विभिन्न ग्रन्थमा गुरुप्रति सम्मान भाव यसरी दर्शाइएको छः
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः।।
माता पिताजस्तै गुरुलाई देवता समान मानी ‘आचार्यदेवो भव’ भनिएको छ ।
गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिकरुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।
यसैगरी आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने चलन रहेको छ ।
आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यासको जन्म भएकाले आजकै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणमा यस्तो सन्देश दिनुभएको छ :
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।
अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी भावना प्रकट गरिएको छ ।
यस वर्ष गुरुपूर्णिमा र व्यास जयन्तीका कार्यक्रम मनाउन नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाउन सरकारले सबैलाई अनुरोध गरेको छ । कतिपय शैक्षिक संस्थाहरुले विभिन्न सामाजिक सञ्जालका माध्यमबाट गुरुपूर्णिमा मनाउने तयारी गरेका छन् ।




















