काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अन्य पार्टीका केही व्यक्तिसँग गठबन्धन गर्नु असंसदीय, अलोकतान्त्रिक र संविधान विपरीत भएको बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेता नेम्वाङले यस्तो धारणा राख्नुभएको हो ।
एउटा पार्टीको केही व्यक्तिसँग गठबन्धन गर्नु असंसदीय, अलोकतान्त्रिक र संविधान विपरीत हो भन्ने जान्दाजान्दै कांग्रेसले विगतमा ‘कम्युनिस्टहरु लोकतान्त्रिक मूल्य-मान्यता जान्दैनन्’ भनेर सम्झाउने गरेको नेता नेम्बाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसभित्र यो पर्छ । त्यसउपर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उहाँले कांग्रेससँग प्रधानमन्त्रीमार्फत् नै आफूहरुले सम्बन्ध विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘तपाईंको पार्टीभित्रका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं ।’
संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेका २६ सांसदले समर्थन गरेका थिए भने ३ साउनमा प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत दिंदा माधवकुमार नेपालसहित एमालेका २२ सांसदको मत दिए ।
२८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिंदा सर्वोच्चले ७६(५) अनुसार सांसदले विवेकको मत दिंदा कारबाही गर्न नपाउने बताएको छ ।
देउवालाई विश्वासको मत लिने दिन कांग्रेस र माओवादी केन्द्रले मत दिन ह्वीप लगाएको स्मरण गर्दै संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो, ‘आफ्नोभित्र अनुशासन चाहिने, आफ्नो पार्टीबाहिर अनुशासन नचाहिने तपाईंहरुको मान्यता हो ?’
आफ्नो दलले जिम्मेवार प्रतिपक्षको भूमिका खेलेर सरकारलाई सहयोग गर्ने नेम्वाङले बताउनुभयो । ‘हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं, सरकार कहिले के कसो गरिरहेको छ हेर्छौं,’ उहाँले भन्नुभयो । गलत ठाउँमा गलत भन्दै टिप्पणी गर्दै सहयोग गर्ने उहाँको भनाइ थियो ।

























