काठमाडौँ । विश्व खेलकुदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा आज उद्घाटन हुँदै छ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष समारोहबीच अपराह्न ४:४५ बजे उद्घाटन हुनेछ ।
आज उद्घाटन हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ ।
उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नेछन् । सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । दर्शकको उपस्थितिबिना प्रतियोगिता सञ्चालन हुनेछ।
नेपालबाट टोकियो ओलम्पिकमा सहभागी पाँच खेलाडीमध्ये सुटिङकी कल्पना परियारले शनिबार बिहान प्रतिस्पर्धा गर्नुहुनेछ । कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
उहाँले एक साताअघि नै जापान पुगेर अभ्यास थाल्नुभएको थियो । कल्पनाको खेल बिहान ५:१५ बजे शुरु हुनेछ ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन् । गौरिका दोस्रो पटक ओलम्पिक खेल्न खेल्दै हुनुहुन्छ भने अन्य चार खेलाडी पहिलोपटक ओलम्पिकमा सहभागी हुनेछन् ।
पौडीकी गौरिकाले पहिलोपटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा उहाँले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्नुभएको थियो ।
ओलम्पिकमा गौरिकाले महिला १०० मिटर फ्रिस्टाइल तथा एलेक्सले पुरुष १०० फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी सोनियाले महिला ४८ किलो तौल समूह तथा सरस्वतीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनुहुने भएको छ । टोकियो ओलम्पिक २४ साउनमा सम्पन्न हुनेछ ।