कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर सो संख्यामा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा सबैभन्दा बढी पुरुष ४० जना रहेका छन् भने महिला चार र ज्यान गुमाउने बालकको संख्या दुई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा १३५ जना छन् । गम्भीर घाइते हुने पुरुष १००, महिला २०, बालक आठ र बालिका सात रहेका छन् । यसैगरी सामान्य घाइते हुनेको सङ्ख्या ८५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गत वर्ष ८६ वटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पदम बडूले जानकारी दिनुभएको छ । जीप-कार २६, ट्रकरट्याङ्कर २३, ट्रयाक्टर १५, बस १३, टेम्पो १०, साना सवारी आठ, टिपर पाँच, माइक्रो तीन र अन्य एक गरेर गत वर्ष जिल्लामा १९० सवारी दुर्घटनामा परेको बडूले जानकारी दिनुभयो ।