काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतका सम्पूर्ण तिक्तता बिर्सेर पार्टी एकतामा आउन नेपाल समूहलाई आग्रह गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड, जेसुकै भएको होस्, आउनुस् सँगै मिलेर काम गरौं ।’
अध्यक्ष ओलीले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएर बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणासमेत गर्नुभयो ।
कार्यक्रममा एक घण्टा लामो सम्बोधन गर्नुभएका अध्यक्ष ओलीले एमालेलाई अगाडि बढ्न कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहारसुसार र प्रवलीकरण गरेको नेपाल कम्युनिष्ट पार्टी भएको उल्लेख गर्दै उहाँले अगाडि भन्नुभयो, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’
अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टासमेत हल्लाउन नसकेपछि अदालतको परमादेशबाट हटाइएको तर्क गर्नुभयो । एमाले स्थानीय तह, प्रदेश र संघीय संसदमा प्रमुख शक्ति रहेकोमा गर्व गर्दै उहाँले भन्नुभयो, ‘एमाले देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो ।’