काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगन थापाले नेता झलनाथ खनालको उपचार खर्च नेपाल सरकारले बेहोर्नु कानुनविपरीत हुने बताउनुभएको छ । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका उहाँले नेपालका प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले बेहोर्न पाउँदैन भन्ने कानुनी व्यवस्था रहेको जनाउँदै उक्त कार्य गैरकानुनी रहेको बताउनुभयो ।
आज सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै थापाले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा आफ्नै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था लागू भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसबारे प्रष्ट हुन आग्रह गर्नु भएको छ ।
नेता थापाले खनालको उपचारका लागि परिवार, उहाँको पार्टी पङ्क्ति लागिरहेको भन्दै उपचार खर्च जुटाउनुपर्ने अवस्था नै आए त्यसका लागि आफूसहित देशविदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको बताउनुभयो ।
हेर्नुहोस् नेता थापाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्नुभएको अभिव्यक्ति