चितवन । चितवनमा अघिल्लो वर्षको तुलनामा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो ।
कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४३५ दुर्घटना भएका छन् । अघिल्लो आवमा २६१ सवारी दुर्घटना भएका थिए । दुर्घटना बढेसँगै मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ । २०७७/७८ मा १२८ जनाको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिनुभयो । अघिल्लो आवमा १०७ जनाको मृत्यु भएको थियो ।
गत वर्ष भएका दुर्घटनामा ७६३ घाइते भएका छन् । तीमध्ये २९० गम्भीर र ४१३ जना सामान्य घाइते भएका छन् । ती दुर्घटनामा ६६४ सवारी साधन पक्राउ परेका छन् ।
कोरोनाका कारण गरिएको निषेधाज्ञाका समयमा समेत मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने, दुई पाङ्ग्रे सवारी साधन तीव्रगतिमा चलाउने गरेका कारण दुर्घटना बढेको थापाले बताउनुभयो । दुर्घटना हुनेमा बढी सङ्ख्यामा दुई पाङ्ग्रे सवारी रहेका छन् ।

























