काठमाडौं । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना खोप निकै संक्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी देखिएको छ ।
मंगलबार सार्वजनिक गरिएको अध्ययनको एउटा रिपोर्टअनुसार सो खोप डेल्टा भेरियन्टविरुद्ध केवल ३३ प्रतिशत मात्र प्रभावकारी रहेको पाइएको हो । अध्ययनको क्रममा दुई डोज दिनुपर्ने खोप लगाएका मानिसहरुमा जोन्सेन खोपको तुलनामा एन्टिबडीको मात्रा पनि दोब्बरभन्दा बढी देखिएको थियो ।
शोधकर्ताहरुले यो अध्ययन अनुसार जोन्सनको खोप लगाएका मानिसहरुलाई अर्कै खोपको थप एक डोज आवश्यक हुन सक्ने बताएका छन् । अमेरिकामा अहिलेसम्म एक करोड ३० लाखभन्दा धेरै अमेरिकी नागरिकहरुले जोन्सेन खोप लगाएका छन् ।
पछिल्लो समय अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको समयमा यस्तो रिपोर्ट सार्वजनिक भएको हो। बुधबार अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारीअनुसार अमेरिकामा भेटिएका नयाँ संक्रमितमध्ये ८३ प्रतिशतमा डेल्टा भेरियन्ट देखिएको छ । साथै यो भेरियन्टले अमेरिकाको करीब सबैजसो राज्यमा संक्रमण बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइएको छ ।
यो अध्ययनको नेतृत्व गरिरहेका डाक्टर नाथानेइल लान्डाउले भन्नुभयो, ‘हामी जोन्सेन खोप मानिसहरुलाई लगाउनै हुँदैन भन्ने सन्देश दिन चाहँदैनौं । तर भविष्यमा जोन्सेन खोप लगाएका मानिसहरुलाई जोन्सेन वा फाइजर वा मोडेर्नाको अर्को डोज पनि आवश्यक पर्न सक्छ भन्ने हामीलाई लागेको छ ।’
यो अध्ययनका लागि २७ जना कोरोना संक्रमितको रगतको नमुनाको अध्ययन गरिएको थियो । उनीहरुमध्ये १७ जनाले फाइजर वा मोडेर्नाको दुवै डोज खोप लिएका थिए भने १० जना मानिसले एक डोज जोन्सेन खोप लगाएका थिए ।
अध्ययनको क्रममा जोन्सेनको खोप लगाएका मानिसमा डेल्टा भेरियन्टले आक्रमण गर्दा एन्टिबडीको स्तर पाँचदेखि सात गुणासम्म घट्ने गरेको पाइएको थियो । फाइजर र मोडेर्नाको खोप लगाएका मानिसमा यो भेरियन्टले आक्रमण गर्दा एन्टिबडीको स्तर तीन गुणाले घटेको पाइएको थियो ।

























