ललितपुर । ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई सो खोप लगाउन लागिएको हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जारी गर्नुभएको सूचनामा महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान प्रवेशाज्ञा लिइसकेका व्यक्तिलाई समेत सो खोप उपलब्ध गराइने छ ।
यसैगरी गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाले जारी गरेको सूचनामा भने पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिकका साथै हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई समेत सो खोप दिइने जनाइएको छ । महालक्ष्मीले सोमबारदेखि शुरु गरेको सो खोप अभियानमा हिजो खोप लगाउन छुटेका सो उमेर समूहका व्यक्तिलाई खोप लगाइने जारी सूचनामा उल्लेख छ ।

























