काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले सिन्धुपाल्चोकको मेलम्ची र मनाङको बाढीले प्रभावित पारेका क्षेत्रहरुलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोकको मेलम्ची र मनाङको बाढीले प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको हो ।
सरकारले विपद् जोखिम न्युनिकरण एवं व्यवस्थापन ऐन २०७८ अन्तर्गत असोज मसान्तसम्म लागू हुने गरी मेलम्ची र मनाङको बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । असार १ गते गएको वाढीले सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी लगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो ।
मेलम्चीको बाढीले केही पक्की पुलहरु समेत बगाएको थियो । मेलम्ची वजार, तिम्वु, चनौटे, तारामाराङ र ग्याल्थुम लगायतका क्षेत्र वाढीले प्रभावित भएका थिए ।
त्यस्तै, असार १ गते नै आएको बाढीले मनाङको चामे, नासों गाउँपालिकामा क्षति पुर्याएको थियो ।
मनाङमा बाढीमा परेर ५३ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । जिल्लाको चामे र ताल बजार क्षेत्र डुबानमा पर्दा करिब एक हजार जना प्रभावित भएका थिए । प्रभावितको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतको टोली खटिएको थियो ।




















