काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनले आफूखुसी बढाए भाडा वृद्धि गरेका छन् । उपत्यकामा चल्ने छोटो दूरीका सवारीसाधनले सरकारले निर्धारण नै नगरेको भाडा आफूखुसी बढाएर उठाउन सुरु गरेका हुन् ।
संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको २८ प्रतिशतसम्म भाडा बढाएको भए पनि कतिपय उपत्यकाभित्रै बस चलाउने यातायात कम्पनीले भाडा बढाएका छन् ।
उपत्यकाबाहिरका थुप्रै रुटमा चल्ने सवारी साधनले पनि आफूखुसी भाडा बढाएका छन् । यातायात व्यवस्था विभागले लामो दूरीमा मात्रै भाडा बढाएको र स्थानीय तथा प्रादेशिक स्तरका रुटमा सम्बन्धित स्थानीय तह र प्रदेशले नै भाडा बढाउन सक्ने बताउँदै आएको छ । तर, अहिलेसम्म कुनै पनि प्रदेश र स्थानीय तहले भाडा वृद्धिको निर्णय लिएका छैनन् । तर, राजधानीभित्रै चल्ने सवारीहरुले २८ प्रतिशतसम्म भाडा बढाएर लिन थालेका छन् । बसहरुमा बढेको भाडादर टाँसेर भाडा लिन थालिएको छ ।
कतिपय कम्पनीले न्युनतम् १४ रुपैयाँ रहेको भाडा अब १८ रुपैयाँ पुर्याएका छन् । त्यसभन्दा लामो स्थानीय रुटमा पनि २८ प्रतिशतका दरले भाडा बढाएर बसमै नयाँ भाडादरको सूचना टाँसिएका छन् ।
प्रदेश र स्थानीय तहले अझै नयाँ भाडादर नतोकिसकेकाले यसरी भाडा बढाउनु अवैध भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागले आफूले गरेको भाडा समायोजनलाई नै आधार मानी प्रादेशिक यातायातअन्तर्गत एकै प्रदेशभित्र सञ्चालन हुने वा स्थानीय तहभित्रका रुटहरुमा सञ्चालन हुने सार्वजनिक सवारीहरुले समेत सोहीअनुसार भाडा वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत नै जनाएको छ ।
‘प्रादेशिक सार्वजनिक यातायातको हकमा सम्बन्धित प्रदेश सरकार र स्थानीय सार्वजनिक यातायातको हकमा स्थानीय सरकार वा सम्बन्धित निकायबाट समायोजन नभएसम्म साविक बमोजिमकै भाडादर लागू हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले लामो दूरीमा चल्ने सवारीको भाडामा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो ।




























