काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सुनुवाई आज हुने भएको छ । विवाद समाधान गर्नका लागि निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई आज आयोग बोलाएको छ ।
पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अन्तर्गत सुनुवाइ हुन लागेको हो । आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएको थियो । सो ऐन अनुसार दुवै पक्षलाई बोलाएर आयोगले असार २२ गते सहमति जुटाउने प्रयास गरेको थियो । तर, उक्त प्रयास असफल भएपछि आयोगले सुनुवाइ प्रक्रिया अगाडि बढाएको हो ।