काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । सो बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएपछि दलको पहिलो पटक बैठक बस्न लागेको हो । सांसद डिला सङ्ग्रौलाले संसदीय दलको बैठक आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने जानकारी दिनुभएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
विसं २०७४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलका रुपमा सदनमा भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस गत साता सरकारको नेतृत्वमा पुगेपछि परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने बताइएको छ । आज दिउँसो ४ बजे संसद् बैठकसमेत बोलाइएको छ । यसअघि बिहान १० बजे संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने बताइएको छ ।