रुपन्देही । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गर्नुभएको हो ।
प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख यादवले दुईवटा अध्यादेश जारी गरेसँगै सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको हो । सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत् जस्ताको तस्तै ल्याइएको आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो । उहाँका प्रदेशसभा नै नचल्ने गरी अवरोध आएपछि अध्यादेश ल्याउनुपरेको बताउनुभयो । उहाँले आजैबाट प्रदेशभरि भैपरी आउने खर्च र उठाउनुपर्ने राजश्व नै अन्यौलमा पर्ने अवस्था आएपछि अध्यादेश ल्याउनुपरेको जानकारी दिनुभयो ।
सहमतिमा बजेट पास गर्न बिहीबार विपक्षीलाई गरेको आग्रह तथा थप समय माग्दा विपक्षीले नदिएपछि एमालेले सदन बहिस्कार गरेर बाहिरिएको थियो । सरकारले बिहीबार राती नै बजेट अधिवेशन अन्त्य गरेको थियो ।