काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवाले अर्थ मन्त्रालयको सट्टा गृह मन्त्रालयमा जोड दिनु चुनाव लक्षित रणनीति भएको बताउनुभएको छ । उहाँले मंगलबार विहान सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै मुख्यमन्त्री पोखरेलले ‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोड दिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो’ भन्नुभएको छ ।
त्यस्तै उहाँले सर्वोच्च अदालतको फैसलामा बजेट सम्वन्धी रायले समयमै बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थामा असर पुग्नुका साथै विकास र सुशासनलाई प्रभावित गर्न सक्नेतर्फ पनि संकेत गर्नुभएको छ ।
सोमबार मात्र गृहमन्त्रीमा कांग्रेस नेता बालकृष्ण खाँडले शपथ लिनुभएको थियो भने अर्थमन्त्रीमा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सपथ लिई कार्यभार समेत सम्हालिसक्नु भएको छ ।