काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अब विपक्षी गठबन्धनमा नरहने बताउनुभएको छ । उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको बैठकमा अबदेखि आफू विपक्षी गठबन्धनमा नरहने जानकारी गराउनुभएको हो ।
विपक्षी गठबन्धन आबद्ध दलको कोटेश्वरमा भएको आजको बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने बताएको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।
नेता नेपालले अब आफू एमाले एकताका लागि कार्यदलले गरेको सहमतिअनुसार अघि बढ्ने भन्दै गठबन्धनबाट बाहिरिने निर्णय गरेको बताइएको छ ।
विपक्षी गठबन्धनको आजको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधैं सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न, सक्षम सरकार बनाउन र सबैलाई समेटेर जान आग्रह गर्दै उहाँले देउवालाई शुभकामना समेत दिनुभयो ।
नेपालले भन्नुभयो, ‘राष्ट्रिय सहमतिका लागि तपाईंहरूको प्रयत्न रहिरहोस्, संविधान र लोकतन्त्रको लडाइँमा मेरो सधैं समर्थन हुनेछ।’