काठमाडौं । ५३ वर्षपछि युरोकपको उपाधिमाथि इटलीले कब्जा जमाएको छ । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधिमाथि कब्जा जमाएको हो ।
सोमबार बिहान भएको फाइनल खेलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै युरोकप जितेको छ ।
सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाउनुभयो । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाउनुभएको थियो ।
लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको दोस्रो मिनेटमै इंग्ल्याण्डले अग्रता लिएको थियो । लुक श ले किरन ट्रिपिएरको पासमा गोल गर्दै घरेलु टोली इंग्ल्याण्डलाई अग्रता दिलाउनुभएको थियो । युरो फाइनलमा भएको यो सबैभन्दा छिटो गोल थियो भने राष्ट्रिय टिमका लागि श को पनि पहिलो गोल थियो । सम्हालिन नपाउँदै सुरुमै गोल खाएपछि इटली बराबरी गोल फर्काउनतर्फ लाग्यो ।
पहिलो हाफमा इंग्ल्याण्डले अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा थप गोल गर्न सकेन । इटलीले भने दोस्रो हाफमा बराबरी गोल फर्कायो । ६७औं मिनेटमा लियोनार्दो बोनुचीले मार्को भेराट्टीको पासमा इटलीका लागि बराबरी गोल गर्नुभयो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थपियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।
सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गर्नुभयो । इटलीका आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाउनुभयो ।
इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गर्नुभयो । जाडोन सान्चो र बुकायो शाकाको बचाउ इटलीका गोलकिपर डोनारुम्बाले बचाउनुभयो । मार्कुस रासफोर्डको प्रहार भने पोष्टमा लागेर फर्कियो । इंग्ल्याण्डका लागि अन्तिम पेनाल्टी प्रहार गरेका साकाले गोल गर्न नसकेपछि इटली विजयी भयो ।