काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला गिरिजाप्रसाद कोइरालामा दृढ इच्छाशक्ति भएको बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९८औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला : प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले शान्ति प्रक्रियाका नायक गिरिजाबाबुमा दृढ इच्छाशक्ति भएको बताउनुभयो ।
नेता डा कोइरालाले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने नेता गिरिजाबाबु भएको उल्लेख गर्नुभयो । पार्टीलाई सशस्त्र क्रान्तिका लागि पैसा आवश्यक परेर विमान अपहरण गर्न गिरिजाबाबु बाध्य भएको उहाँको भनाइ थियो । गिरिजाबाबु पार्टीको कुशल सङ्गठनकर्ता भएको नेता कोइरालाले बताउनुभयो । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले नेपाली राजनीतिमा गिरिजाबाबुको अभाव खड्किएको बताउनुभयो । गिरिजाबाबुले देखेको जनप्रतिनिधीमार्फत संविधान लेख्ने सपना स्व सुशील कोइरालाको नेतृत्वमा सम्भव भएको उहाँको भनाइ थियो ।