धनगढी । दार्चुलाको नौगाडमा गएको भीषण पहिरोमा परी ३ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा परी एकै परिवारका दुईसहित तीन जनाको ज्यान गएको हो । नौगाढ गाउँपालिका-३ चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उहाँकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको छ ।
यस्तै पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । तीनैजनाको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परेर नौगाढ गाउँपालिका-३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते हुनुभएको छ ।
यसैगरी नौगाढ गाउँपालिका-३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको छ ।
जिल्ला सदरमुकामबाट झण्डै ८ घण्टाको पैदल दूरीमा रहेको उक्त ठाउँमा पहिरोमा फसेका मानिसको उद्धारका लागि प्रहरी टोली खटिएको छ ।