काठमाडौं । इङल्यान्ड युरोकप फुटबलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै फाइनलमा पुगेको छ ।
१९६६ को विश्वकपपछि इङ्ल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो । घरेलु मैदान बिम्बलीमा अतिरिक्त समयको पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान ह्यारी केनले इङ्ल्यान्डलाई फाइनलमा पु-याउनुभयो ।
त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ३० औं मिनेटमा मिक्केल ड्याम्सगार्डले उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कलाई अग्रता दिलाउनुभएको थियो ।
ड्याम्सगार्डले २० यार्ड परबाट सिधैं गोलपोस्टको टप कर्नर ताकेर फ्रिकिक प्रहार गर्नुभएको थियो । जारी युरोकपमा इङ्ल्यान्डले खाएको यो नै पहिलो गोल हो । त्यसैगरी जारी युरोमा डाइरेक्ट फ्रिकिकमार्फत भएको यो पहिलो गोल हो ।
घरेलु मैदान बिम्बलीमा बुकायो साकाको क्रसमा रहिम स्ट्रलिङले नजिकको दूरीबाट गोल गरेपछि इङ्ल्यान्डले ३९ मिनेटमा खेल बराबरी ग-यो । अतिरिक्त समयमा ह्यारी केनले निर्णायक गोल गर्दै इङ्ल्यान्डलाई विजयी गराउनुभयो ।
इङ्ल्यान्डले अब फाइनलमा इटलीको सामना गर्नेछ । स्पेनलाई टाइब्रेकरमा हराउँदै इटलीले फाइनलमा स्थान बनाएको हो ।