काठमाडौं । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र जापानको टोकियोमा २०७८/०४/०८ गतेदेखी २४ गतेसम्म आयोजना हुने ‘३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता’ मा सहभागी हुन छनौट हुनु भएका नेपाली सेनाका खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनु भएको छ ।
सेनापति थापाले नेपालमा खेलकुदको विकासका लागि नेपाली सेनाले समेत आफ्नो तर्फबाट दिँदै आएको योगदानको निरन्तरता स्वरुप हालसम्म ओलम्पिक प्रतियोगितामा नेपाली सेनाका २४ जना खेलाडीले आफ्नो कौशल प्रदर्शन गरि सकेको र ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका नेपाली सेनाका खेलाडीहरुलाई बधाई तथा सफलताको लागि अग्रिम शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले पनि खेलाडीहरुलाइ शुभकामना दिनुका साथै हरेक खेलाडीको सपनाको रुपमा रहेको ओलम्पिक जस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु खेलाडी आफैमा गौरवको विषय हुनुका साथै यो क्षण नेपालको लागि ऐतिहासिक रहेको भनि विचार व्यक्त गर्नु भएको थियो । वहाँले ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका नेपाली सेनाका खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शनको लागि शुभकामना दिनुहुँदै नेपाली सेनाले खेलकुद जगतमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।

उक्त ओलम्पिक प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिपाही सरस्वती चौधरीले एकसय मिटर स्प्रिन्ट विधामा र सोही क्लबकी सिपाही कल्पना परियारले १० मिटर एयर राइफल विधामा प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्द्धी खेलाडीहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुँदै हाल गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका छन् ।
उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, नेपाल ओलम्पिक कमिटिका महासचिव तथा कार्यकारी निर्देशक, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष, नेपाल सुटिङ्ग संघका अध्यक्षलगायतको उपस्थिती रहेको थियो ।




















