काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नायक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलको निर्धारित मसयम १-१ को बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो । खेलको सातौं मिनेटमै लिओनल मेस्सीको पासमा लाउटारो मार्टनिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा कोलम्बियाका लुइस डियाजले एडविन कार्डोनाको पासमा बराबरी गोल फर्काउनुभएको थियो ।
निर्धारित ९० मिनेट बराबरी भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुग्यो । जहाँ अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे । कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो ।




















