काठमाडौं । स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ ।
स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गए राति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४-२ ले पराजित गरेको हो ।
लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
इटलीका मानुएल लोकाटोलीको पहिलो प्रहार नै स्पेनका गोलकिपर उनाइ सिमोनले बचाउनुभएको थियो । तर त्यसको फाइदा स्पेनले लिन सकेन । स्पेनका डानी ओल्मोको प्रहार पोष्टबाट बाहिर गयो ।
त्यसपछि इटलीका लागि आन्द्रे बेलोट्टी, लिओनार्दो बोनुची र जर्गिन्होले गोल गर्नुभयो । स्पेनका लाग जेरार्ड मवरेनो र थियागो अलकान्टाराले गोल गर्नुभएको थियो ।
निर्धारित समयमा गोल गरेका अल्भारो मोराटाको पेनाल्टी प्रहार भने इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले बचाउनुभयो ।
इटली सन् २०१२ पछि युरोकपको फाइनल पुगेको हो । त्यो बेला इटली स्पेनसँग फाइनलमा पराजित भएको थियो । यस युरोकपमा खेलेको ६ वटै खेल जितेको इटलीले अपराजित यात्रालाई ३३ खेलसम्म पुर्याएको छ । इटलीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।