काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि बसेको एमाले कार्यदलको आजको बैठक सकिएको छ । सिंहदरबारमा बसेको सो बैठक हिजोभन्दा आज केही सकारात्मक ढंगले अगाडि बढेको कार्यदलका नेताहरुले बताउनुभएको छ । बैठक सकारात्मक ढंगले अघि बढेको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो ।
दोस्रो दिन बसेको सो बैठकमा पार्टीभित्रको विवादबारे विषयगत छलफल भएको बताइएको छ ।
‘बैठक सकारात्मक ढंगले अघि बढेको छ । पार्टीभित्र देखिएका विवादका सन्दर्भमा केन्द्रित रहेर छलफलको सुरुवात भएको हो’, विष्टले भन्नुभयो, ‘आजको बैठकमा सदस्यहरूले आ–आफ्ना धारणा राखेर छलफलको सुरुवात गर्नुभयो । यो छलफललाई निरन्तरता दिने निर्णय भएको छ ।’ गत शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको ‘अल्टिमेटम’ दिएपछि एमालेका कार्यदलमा सहभागी नेताहरु पार्टीलाई एकढिक्का बनाउनका लागि सक्रिय भएर लागिरहनुभको छ । अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्युँताएर पार्टी विवाद हल गर्न छलफल सुरु भएको हो ।
कार्यदलमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । खनाल–नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त नेताहरु रहनुभएको छ ।