सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधता सम्पन्नताको प्रतीक भएको बताउनुभएको छ । सप्तरीको सदरमुकाम राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभई सम्पन्नताको प्रतीक भएको बताउनुभएको छ । उहाँले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता छ । यो हाम्रो सम्पदा, सम्पन्नता हो । समृद्धि हो ।’ उहाँले थप्नुभयो, ‘यसलाई हामीले मनमुटावको बिषय बनाउनुहुन्न । द्वन्द्वको विषय बनाउनुहुन्न ।’
प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पुर्याएको पनि जानकारी गराउनुभयो । ‘कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम ग-र्यौं । खेतहरुमा सिञ्चाइको प्रबन्ध हामीले गर्यौं’ उहाँले भन्नुभयो, ‘हामी विकास गर्न सक्छौं । विकासका कामलाई अगाडि बढाउन सक्छौं ।’
प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै हुने बताउनुभयो । ‘भवन निर्माणको काम छिटै र गुणस्तरीय रुपमा सम्पन्न हुनेछ’ उहाँले भन्नुभयो । जग्गा प्राप्त भएको, डिजाइन बनेको तथा बजेटको पनि व्यवस्था भइसकेकाले काम चाँडै सम्पन्न हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले यो काममा स्थानीय पालिका, जनप्रतिनिधि र आमजनताको सहयोग हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
























