काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रले हटाएका ५ उपप्रमुखको पुनर्वहाली गरेको छ । रौतहटको विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको हो ।
माओवादी केन्द्रको कारवाहीका आधारमा निर्वाचन आयोगबाट पदमुक्त भएका उहाँहरूलाई सर्वोच्चले पुनर्वहाली गरेको हो । न्यायाधीश कुमार चुँडालको एकल इजलासले फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी महतो, मौलापुर नगरपालिका उपमेयर गौरीशंकर जयसवाल र देवाही गोनाही नगरपालिकाका उपमेयर परनीयादेवी पटेललाई सोही पदमा यथावत काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।
त्यस्तै, यमुनामाइ गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साह र माधवनारायणपुर नगरपालिकाकी उपमेयर सिम साहलाई पनि निर्वाचन आयोगले पदमुक्त गरेकोमा अदालतले पुनर्वहाली गरेको छ ।
माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरू एमालेमा प्रवेश गरेको भन्दै सो पार्टीको लिखित पत्रका आधारमा निर्वाचन आयोगले रौतहटका दुई स्थानीय तहका प्रमुख र पाँचजना उपप्रमुखलाई पदमुक्त गरेको थियो । पदमुक्त भएका मौलापुरकी मेयर रिनाकुमारी साह र कटहरीयाका मेयर सियाराम कुशवाहलाई यसअघि सर्वोच्चले पुनर्वहाली गरिसकेको छ । यी पाँच जनप्रतिनिधिले पनि पुनर्वहालीसँगै पदभार सम्हालिसक्नुभएको छ ।