काठमाडौं । डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत शनिबार राति भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो ।
अजरवैजानस्थित बाकु मैदानमा भएको खेलमा डेनमार्कका लागि थोमस डिलाने र क्यास्पर डलबर्गले पहिलो हाफमा गोल गरे । चेकका लागि प्याट्रिक सिकले एक गोल गर्नुभयो ।
खेलको पाँचौँ मिनेटमै थोमस डिलेनेले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाउनुभयो । जेन्स स्ट्रराइर लार्सनको कर्नमार पेनाल्टीमा अनमार्क रहेका डिलानेले गोल गर्नुभएको थियो ।
४२औं मिनेटमा क्यास्पर डलबर्गले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाउनुभयो । योकि माहलेको पासमा डोलबर्गले गोल गर्नुभयो । जारी युरोकपमा डलबर्गको यो तेस्रो गोल हो ।
पहिलो हाफमा दुई गोलले पछि परे पनि दोस्रो हाफमा चेकले सुरुआतदेखि नै डेनमार्कमाथि दबाब बनाउन थाल्यो । ४९औं मिनेटमा चेकका प्याट्रिक सिकले गोल गर्नुभयो । उहाँले भ्लादिमिर काउफलको पासमा गोल गर्नुभएको थियो ।
यस गोलपछि सिकले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो समान ५ गोल गर्नुभयो । रोनाल्डोले एक असिस्टसमेत गरेकोले रोनाल्डोले गोल्डेन बुट होडमा अगाडि हुनुहुन्छ ।
डेनमार्क सन् १९९२ मा उपाधि जितेपछि पहिलो पटक सेमिफाइनल पुगेको हो । डेनमार्कले अब फाइनल पुग्न इंग्ल्याण्डसँग खेल्नेछ ।
यसैगरी शनिबार राति नै भएको अर्को खेलबाट इंग्ल्याण्ड २५ वर्षपछि युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी युरोकप-२०२० अन्तर्गत अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० ले सहजै पराजित गर्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो ।
सन १९९६ मा पछिल्लो पटक इंग्ल्याण्डले युरोकपको सेमिफाइनल खेलेको थियो । त्यो बेला जर्मनीसँग पेनाल्टीआउटमा पराजित भएको इंग्ल्याण्डले साढे दशक दशकपछि फेरि सेमिफाइनलमा स्थान बनायो । इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि डेनमार्कसँग खेल्नेछ ।
रोममा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन कप्तान ह्यारी केनले २ तथा ह्यारी मगुएरे र जोर्डन हेन्डरसनले एक/एक गोल गर्नुभयो ।
खेलको चौथो मिनेटमै केनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाउनुभएको थियो । पहिलो हाफमा त्यही अग्रता कायम राखेको इंग्ल्याण्डले दोस्रो हाफमा तीन गोल गर्यो । ४६औं मिनेटमा मगुएरले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । केनले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो भने हेन्डरसनले ६३औं मिनेटमा गोल गर्नुभयो । पहिलो पटक क्वाटरफाइनल पुगेको युक्रेनको यात्रा भने त्योभन्दा अघि बढ्न सकेन ।