काठमाडौं । बेल्जियमलाई २-१ ले पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
जर्मनीको म्युनिकमा भएको खेलमा इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गर्नुभयो । बेल्जियमका लागि रोमेलु लुकुले एक गोल गर्नुभयो ।
खेलको १३औं मिनेटमै इटलीका लियोनार्दो बोनुचीले गोल गर्नुभएको थियो । तर भिएआरले अफसाइड भएको भन्दै गोललाई मान्यता दिएन । तर इटलीले धेरै समय कुर्नुपरेन । ३१औं मिनेटमा निकोलो बरेलाले मार्को भेराटीको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाउनुभयो ।
४४औं मिनेटमा लरेन्जो इनसिग्नेले गोल गर्दै इटलीको अग्रता दोब्बर पार्नुभयो । पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटायो । इटलीका जिओभानी डि लरेन्जोले जेरेमी डुलाई धकेलेर लडाएपछि बेल्जियमले पेनाल्टी पायो । जसमा रोमेलु लुकाकुले सहजै गोल गर्नुभयो ।
दोस्रो हाफमा बेल्जियमले बराबरी गोल फर्काउन खोजे पनि सफल हुन सकेन । नियमित कप्तान इडेन हजार्ड घाइते भएकाले इटलीविरुद्ध खेल्न सक्नुभएन । तर केभन डे ब्रुयन भने शतप्रतिशत फिट नभए पनि खेल्नुभएको थियो । यस हारपछि बेल्जियमको जित यात्रामा ब्रेक लागेको छ भने इटली सेमिफाइनल पुगेको छ । इटलीले अब फाइनल पुग्न स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।