काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण चितवनका नदी तथा खोलाहरुमा पानीको सतह उच्च हुँदा नदी तटीय क्षेत्रका बस्तीहरुमा जोखिम बढेको छ । सबैभन्दा ठूलो जोखिम पर्यटकीय क्षेत्र सौराहामा छ भने सौराहा नजिकैको बाघमाराका २० घर अहिले डुबानमा छन् । बुढी राप्ती खोलाले डुवानमा परेका वाघमाराका बासिन्दाको उद्धार गरिएको छ ।
सौराहा हुँदै बगेका राप्ती, बुढी राप्ती, ढुँग्रेलगायतका नदी तथा खोलामा पानीको सतह उच्च भएकाले सौराहामा जोखिम बढेको हो । खोलाहरुमा पानीको सतह बढ्दै गएसँगै सौराहाका होटलहरुल भुइँतलामा रहेका सामान अहिले सुरक्षित गर्नेतर्फ लागेको क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले बताउनुभयो ।
”अहिले हामी हाम्रा सामान डुबानबाट कसरी बचाउन सकिन्छ भन्ने सतर्कता अपनाउँदै सामानहरु सुरक्षित ठाउँमा सार्ने काम गरिरहेका छौ”, उहाँले भन्नुभयो, “यदि डुबान भइहालेमा उद्धारका लागि नेपाली सेनाले डुङ्गासहितको जनशक्ति तयारी अवस्थामा राखेको छ ।”
सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन् । यस्तै राप्ती नदी तटमा रहेका मेघौली, जगतपुर र पटिहानीका होटलहरु पनि अहिले डुवानको उच्च जोखिममा छन् । नारायणी नदी तटमा रहेका नाराणगढ, गैडाकोटदेखि शिवघाट, मेघौलीसम्मका नदी तटीय क्षेत्रका होटल तथा बस्तीहरु पनि डुबानको जोखिममा छन् । चितवनमा पछिल्लो तीन दिनदेखि अविरल पानी परिरहेको छ । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तीमा बुढी राप्तिखोला पस्दा त्यहाँ फसेका सबैको उद्धार गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी उपरीक्षक इन्द्र रानाले बताउनुभयो ।
























