एजेन्सी । स्विडेनमाथि २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले युरोकपको क्वार्टरफाइनल चरणमा स्थान पक्का गरेको छ । अतिरिक्त समयमा स्विडेनलाई पराजित गर्दै युक्रेनले क्वार्टरफाइनल चरणमा स्थान पक्का गरेको हो ।
उक्त जितमा ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गर्नुभयो। स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काउनुभयो । रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले निर्णायक गोल गर्दै युक्रेनलाई अन्तिम ८ मा प्रवेश गराउनुभएको थियो ।
त्यसअघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो। खेलको ४३ औं मिनेटमा फोर्सवर्गले बराबरी गोल फर्काए पनि खेल अतिरिक्त समयमा धकेलिएको हो । यो जितसँगै युक्रेन क्वार्टरफाइनलमा पुग्ने आठौं टोलि बनेको छ। यस खेलसँगै युरोकपको क्वार्टरफाइनल समीकरणसमेत पूरा भएको छ । अब युक्रेनले क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यसैगरी युरोकपको अर्को खेलमा जर्मनीलाई २-० गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को खेलमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक- एक गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाउनुभयो । ८६ औं मिनेटमा कप्तान केनले दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई २-० को जित दिलाउनुभयो । यस जितसँगै इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्दै क्वार्टरफाइनलमा यूक्रेनसँगको भेट सुनिश्चित गरेको हो ।