काठमाडौं । युरोकप २०२० अन्तर्गत आज पोर्चुगल र बेल्जियमबीचको खेल हुँदैछ । साविक विजेता पोर्चुगलले समूह चरणमै विश्व विजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनीसँग खेलिसकेको छ ।
फेरि एकपटक पोर्चुगलको लागि अर्को ठूलो टिम विपक्षीको रुपमा छ । उपाधि रक्षाको होडमा अघि बढेको पोर्चुगलको बाटो पक्कै सहज छैन । त्यही पोर्चुगलले अन्तिम १६ मा विश्व नम्बर एक बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा यी दुईले फरक खालको अवस्था सामना गरे ।
बेल्जियमले समूह बी को विजेता बन्ने क्रममा सबै ३ खेल जितेको थियो । पोर्चुगलले समूहको अन्तिम खेलमा फ्रान्ससँग २-२ को बराबरी खेलेपछि पनि शीर्ष दुईमा पर्न सकेको थिएन । तर ६ समूहका तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि नकआउट चरणमा पुग्ने भएपछि पोर्चुगल पनि भाग्यमानी बन्यो । त्यसअघि हंगेरीलाई ३-० ले हराएको पोर्चुगल जर्मनीसँग ४-२ ले पराजित भएको थियो ।
उता बेल्जियमले पहिलो खेलमै रुसलाई ३-० ले सहजै हरायो । दोस्रो खेलमा डेनमार्कविरुद्ध एक गोलले पछि परेर पनि २-१ को जित हात पारेको बेल्जियमले तेस्रो खेलमा फिनल्याण्डलाई २-० ले पराजित गरेको थियो ।
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र एडेन हाजार्डो कप्तानीमा रहेको बेल्जियमबीचको खेल सबैका लागि प्रतिक्षा नै बनेको छ ।
पोर्चुगलले प्रतियोगितामा ७ गोल गर्दा रोनाल्डो एक्लैले ५ गोल गरिसक्नुभएको छ । उहाँले एक असिस्टसमेत गर्नुभएको छ । उता बेल्जियमका लागि रोमेलु लुकाकुले पनि ३ गोल गर्नुभएको छ । मिडफिल्डमा केभिन डे ब्रुएनाको प्रेरणादायी प्रदर्शन बेल्जियमको लागि फाइदा बन्न सक्छ । रोनाल्डो र लुकाकु दुवै अहिले गोल्डेन बुटको होडमा समेत अघि हुनुहुन्छ ।
बेल्जियमको टिमलाई अहिले गोल्डेन जेनेरेसनको रुपमा हेरिन्छ । तर फिफा बरीयतामा नम्बर वान भएर पनि उसले केही जित्न सकेको छैन । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको बेल्जियमले त्यसका लागि साविक विजेता पोर्चुगललाई पराजित गर्नुपर्नेछ ।
पोर्चुगल र बेल्जियम युरोकपमा पहिलो पटक खेल्न लागेका हुन् । यी दुई टोलीबीच सन् २०१८ मा भएको पछिल्लो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । अहिलेसम्म दुई टोलीबीच १८ खेल हुँदा पोर्चुगलले ६ र बेल्जियमले ५ खेल जितेको छ भने ७ खेल बराबरीमा सकिएको छ ।
यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे स्पेनको सेभियास्थित ला कार्टुया स्टेडियममा हुने भएको छ ।