एजेन्सी । आजदेखि युरोकप फुटबलमा नकआउट चरणका खेलहरु सुरु हुने भएका छन् । आज राति नकआउट चरणअन्तर्गत दुई खेल हुँदैछन् । पहिलो खेलअन्तर्गत आज राति ९:४५ बजे वेल्स र डेनमार्क प्रतिस्पर्धाबीच प्रतिष्पर्धा हुनेछ । समूह चरणको पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० गोलअन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा डेनमार्क बेल्जियमसँग २–१ ले पराजित भएको थियो । तर, अन्तिम खेलमा रुसलाई ४–१ गोलअन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बनेको हो । वेल्स समूह ए को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो ।
राति १२:४५ बजे इटाली र अस्ट्रिया भिड्नेछन् । शतप्रतिशत जित निकालेको इटालीले पहिलो खेलमा टर्कीलाई ३-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो । अन्तिम खेलमा इटालीले वेल्सलाई १-० ले हराएको थियो । अष्ट्रिया भने समूह सी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । सो खेलको प्रतिष्पर्धा इंग्ल्याण्डको वेम्बली रंगशालामा हुँदैछ ।