काठमाडौं । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मध्यावधि चुनाव अघि नै सवै जनताले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने बताउनु भएको छ ।
खोपको सम्बन्धमा छिटै चमत्कारिक सफलता प्राप्त हुने वताउँदै मन्त्री श्रेष्ठले २०२१ भित्र सवै नागरिकले खोप लगाइ सक्ने प्रधानमन्त्रीको चाहना पूरा हुने बताउनु भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा मन्त्री श्रेष्ठले ‘जनताले नो भोट, नो खोप’ भनेको स्मरण गर्दै भन्नुभयो ‘हामी एस खोप, एस भोट गराउँछौं ।’
मन्त्री श्रेष्ठले सरकारले बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोनाविरुद्धको खोप अभियानको पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको जानकारी पनि दिनु भएको छ ।
बाढीका कारण विस्थापित हुँदा समूहमा बस्नुपर्ने भएकाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खोप प्राथमिकतामा राखिएको उहाँले बताउनु भएको छ । गतसाता आएका बाढीले सिन्धुपाल्चोक, मनाङ र म्याग्दी प्रभावित भएका थिए ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कर्मचारीसँगको ब्रिफिङमा मन्त्री श्रेष्ठले संकटमा लड्नका लागि कर्मचारीको मुख्य भूमिका रहने भन्दै सहयोगका लागि आग्रह समेत गर्नु भएको छ ।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालले पनि बाढी पीडितलाई खोप अभियानको पहिलो प्राथमिकतामा राखिएको बताउनु भएको छ । कोरोनाको तेस्रो लहरको तयारीस्वरुप ६०० आइसीयू बेड, १८० थान भेन्टिलेटर र अक्सिजन प्लान्ट थप्ने तयारी भएको समेत उहाँले बताउनु भएको छ ।
कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २५० आइसीयू बेड थप्ने तयारी भएको सचिव अर्यालले बताउनु भएको छ ।
मन्त्री श्रेष्ठले आजै वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको कार्यभार समेत सम्हालनु हुने भएको छ ।