राष्ट्रियस्तरका खेलाडी जन्माउने जिल्ला हो भोजपुर । यही जिल्लामा जन्मिएका खेलाडीले नेपाललाई विश्वसमक्ष चिनाएका छन् । अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने अल्ट्राधाविका मीरा राईदेखि राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्याडमिन्टन र उसु खेलाडीलाई पनि यो भूमिले जन्माएको छ ।
यद्यपि खेल क्षेत्रमा यति धेरै योगदान पु-याउने भोजपुरमा खेलको विकासका लागि विगतका दिनमा दीर्घकालीन योजनाका साथ काम नहुँदा खेलाडीले भने समस्या झेल्दै आएका छन् । देश सङ्घीय प्रणालीमा गएपछि भने यहाँ खेल क्षेत्रको विकासका लागि कामको थालनी भएको देखिन्छ । जिल्लाका नौवटा स्थानीय तहले खेल क्षेत्रको विकासका लागि लगानी गरिरहेका छन् । भोजपुरमा कुनै ठूलो खेलको आयोजना गर्दा विद्यमान अवस्थामा पनि खेल मैदानको अभाव नै छ ।
यहाँको समस्यालाई ध्यानमा राख्दै भोजपुर रङ्गशालाको निर्माण शुरु भएपछि भने खेलाडी तथा खेलप्रेमीमा उत्साह थपिएको छ । जिल्लामा ढिलै भए पनि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनिरहेको छ । यसले खेल क्षेत्रको विकाससँगै खेलाडीमा उत्साहको रङ भरेको छ । मापदण्डानुसारका खेल मैदान नहुँदा सोचेजस्तो खेलाडीको वृत्तिविकास हुन सकिरहेको छैन ।
पाँच हजार मानिस अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासीमा उत्साह थपिएको छ । प्रदेश–१ सरकारको रु १४ करोड पाँच लाखमा गत मङ्सिरदेखि तीव्रगतिमा रङ्गशाला बनिरहेको छ । विसं २०८० सम्ममा सम्पन्न गर्नुपर्ने अवधि भए पनि तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माणको जिम्मा लिएको रायमाझी मार्सेली निर्माण जेभीले जनाएको छ । विसं २०७६ कात्तिक ७ गतेदेखि शुरु भएको निर्माण समयमै रकम निकासा हुनसके समयावधिभन्दा झण्डै डेढ वर्ष अगाडि नै काम सम्पन्न गरिने ठेकेदार कम्पनीका प्रमुख श्याम श्रेष्ठले बताउनुभयो । उहाँले श्रेष्ठले भन्नुभयो, “तोकिएको मापदण्डानुसार निर्माणको काम भइरहेको छ । बजेटलगायत अन्य कुनै समस्या नआएमा यो आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।”
भोजपुरको फुटबल क्षेत्रमा टेवा पु-याउने लक्ष्यले विसं २०६४ मा पहिलो पटक जिल्ला विकास समिति बोर्डले रु ५५ लाख मूल्यमा जिल्ला खेलकूद परिषद्मार्फत रङ्गशालाको जग्गा खरिद गरेको थियो । जिविसबाट छुट्याइएको केही रकमबाट रङ्गशालाको स्तरोन्नति गर्ने काम थालिए पनि बजेट अभावमा अगाडि बढ्न सकेन । हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्ट्रक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्यारापिट, बनाउने, रिटेनिङवाल लगाउनेलगायतका काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेल मैदानमा दुबो लगाउने काम पनि भइरहेको छ ।
सात हजार वर्ग मिटरको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सातवटा प्यारापिट निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । कूल २५ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ १०२ मिटरको लम्बाइ र पश्चिमतर्फ १०५ मिटरको लम्बाइमा मैदान सम्याइएको छ । कामलाई गुणस्तरीय बनाउनका लागि इञ्जीनियरहरूले नियमित अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डानुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जीनियर रजनिशकुमार झाले बताउनुभयो ।
रङ्गशाला निर्माणका क्रममा विस्तृत परियोजना प्रतिवेदनमा छुट भएका केही संरचनाको विषयमा भोजपुर जिल्ला फुटबल सङ्घले ध्यानाकर्षण गराउँदै आएको जनाएकोे छ । “भोजपुरको खेल क्षेत्रको विकासमा रङ्गशालाले निकै ठूलो टेवा पुग्ने देखिन्छ । प्रदेश नं १ सरकारले जुन योजनाका साथ काम थालेको छ, यसले जिल्लावासी तथा खेलाडी र खेलप्रेमीमा उत्साह बढेको छ”, भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविन सुवालले भन्नुभयो, “विभिन्न समयमा हामीले अन्तर्राष्ट्रियस्तरको खेल खेलाउँदै आएको भए पनि मापदण्डानुसारको खेल मैदान नहँुदा धेरै समस्या झेल्नुपरेको छ । रङ्गशाला निर्माण सम्पन्न भएपछि त्यो समस्या समाधान हुनेमा हामी आशावादी छौँ ।”
पाँच हजार मानिस अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासीमा उत्साह थपिएको छ । प्रदेश–१ सरकारको रु १४ करोड पाँच लाखमा गत मङ्सिरदेखि तीव्रगतिमा रङ्गशाला बनिरहेको छ । विसं २०८० सम्ममा सम्पन्न गर्नुपर्ने अवधि भए पनि तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माणको जिम्मा लिएको रायमाझी मार्सेली निर्माण जेभीले जनाएको छ ।
विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रङ्गशाला’ निर्माणको काम पनि तीव्रगतिमा भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । भोजपुर रङ्गशालासँगै पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रङ्गशाला’को काम पनि तीव्रगतिमा भइरहेको छ । गाउँपालिकाको क्रमागत बजेट अन्तर्गत रु ५५ लाख र प्रदेश सरकारको रु एक करोड ३५ लाख गरी झण्डै रु दुई करोडको लागतमा सो रङ्गशाला निर्माण भइरहेको छ । यस्तै प्रदेश सरकारकै क्रमागत योजनाअन्तर्गतकै रु छ करोड लागतमा षडानन्द नगरपालिकाको दिङ्ला रङ्गशाला पनि निर्माण काम भइरहेको छ ।
यस्तै प्रदेश सरकारकै रु ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेल मैदान र रु २५ लाख लागतमा हतुवागढी गाउँपालिका–१, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकूद रङ्गशाला निर्माण क्रम जारी छ । अन्य दर्जनाँै खेलकूद आयोजना सञ्चालनमा छन् । यसले खेलकूद मैदान अभावमा पलायन हुने युवा खेलाडीलाई उत्साह थपिदिएको छ ।
वर्षौँदेखि बजेट अभाव झेल्दै आएको रङ्गशालाको झण्डै १२ वर्षमा रु ४० लाख बराबर लागतमा केही प्रतिशत स्तरोन्नतिको काम सम्पन्न भएको थियो । स्थानीय सरकार आएपछि भोजपुर नगरपालिकाले वडाअन्तर्गत स्तरोन्नतिमा केही रकम छुट्याउँदै आएको छ । प्रदेश १ कै उत्कृष्ट रङ्गशालाका रूपमा भोजपुर रङ्गशाला बन्ने भएपछि सिङ्गो जिल्लाका लागि नै खेलाडी उत्पादनका लागि उर्वरभूमि बन्ने भोजपुर नगरप्रमुख कैलाशकुमार आले बताउनुहुन्छ । थोरै बजेटले पर्याप्त नभएपछि बेवारिसजस्तै बन्दै आएको रङ्गशाला जिल्लाकै प्रतिष्ठा बोक्ने किसिमको हुनेमा भोजपुरवासी विश्वस्त रहेको उहाँले बताउनुभयो ।
भोजपुर जिल्ला फुटबल सङ्घले आधिकारिकरूपमा सम्बन्धित निकायसामु पहल गरे पनि रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको माहोल बन्न सकेको थिएन । जिल्ला फुटबल सङ्घले पटकपटक रङ्गशालाका लागि सरोकारवाला निकायदेखि मन्त्रालयसम्म बजेटका लागि ताकेता गर्दै आएको थियो । प्रदेश सरकार बनेपछि ठूला आयोजनाअन्तर्गत प्रदेश सरकारले नमूना रङ्गशाला बनाउने लक्ष्यले बजेट विनियोजन गरेपछि सहज बाटो खुलेको सङ्घका कोषाध्यक्ष विनम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाँैपछि रङ्गशालाले नयाँ रूप लिने सपना पूरा हुने भएको छ । स्तरोन्नतिका लागि पर्याप्त बजेट र उपकरण सामग्री पनि पर्याप्त हुने भएको छ । यसभन्दा अगाडिका समयमा विविध प्राविधिक कारणवश बजेटको माहोल सिर्जना हुन सकेको थिएन ।” (रासस)