काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी(प्रमाणपत्र नं १००)लाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।
संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।
न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको वैशाख २१ गते निधन भएपछि रिक्त पदमा भण्डारी नियुक्त हुनु भएको हो ।
प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषदमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, कानुन न्याय तथा संसदीय मामिला मन्त्री, नेपाल बार एसोसिएशनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा बीस वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता सदस्य रहने व्यवस्था छ ।
न्याय परिषदले न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाही र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्ने वा परामर्श दिने काम गर्छ ।

























