एजेन्सी । युरोपेली च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को शीर्षमा रहँदै इटाली समूहको अन्तिम खेलमा आइतबार राति इटालीले वेल्सलाई १–० गोलअन्तरले अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ । यता पराजित भए पनि गोलअन्तरका आधारमा अगाडि रहँदै वेल्सले पनि अन्तिम १६ मा स्थान बनायो ।
यही समूहको अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो । वेल्स र स्विट्जरल्याण्डको समान चार/चार अंक भए पनि गोलअन्तरका आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो । वेल्समाथि जित हासिल गरेको इटालीले भने तीन खेलमा नौ अंक जोड्यो ।
वेल्सविरुद्धको खेलमा म्याटियो पेस्सिनाले खेलको ३९औं मिनेटमा गोल गर्दै इटालीलाई अग्रता दिलाउनुभएको थियो । उहाँले मार्को भेराट्टीको फ्रिकिकमा आएको बलमा गोल गर्नुभएको हो । ५५औं मिनेटमा इथान अम्पादुले बर्नार्डेस्कीले विपक्षी खेलाडीमाथि फल गरेपछि रातो कार्ड खाँदै बाहिरिनुप¥यो । त्यसपछि दश खेलाडीमा सीमित भएको वेल्स रक्षात्मक खेल्दा कुनै गोल हुन सकेन ।
यो जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटाली लगातार ३० खेलमा अपराजित रहेको छ । अब अन्तिम १६ को एक खेल जितेमा नयाँ कीर्तिमान कायम गर्नेछ । यसअघि वेल्सले सन् १९३५ अक्टोबरदेखि सन् १९३९ जुलाईसम्म ३० खेलमा अपराजित रहँदै कीर्तिमान कायम गरेको थियो । उक्त कीर्तिमान भंग गर्ने अवसर इटालीका सामु यसपटक छ । सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय भोगेयता इटालीले लगातार ३० खेलमा हार व्यहोर्नुपरेको छैन ।
इटालीले अब अन्तिम १६ मा समूह ‘सी’ को उपविजेतासँग खेल्नेछ । इक्त खेल लण्डनको वेम्बली रंगशालामा हुनेछ । समूह ‘सी’ मा युक्रेन र अष्ट्रियाको दोस्रो हुने सम्भावना रहेको छ ।