एजेन्सी । ब्राजिलले पेरुमाथि सानदार जित हात पारेको छ । कोपा अमेरिका कप फुटबलअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा लगातार दोस्रो जित हात पार्नेक्रममा ब्राजिलले पेरुमाथि ४-० गोलअन्तरको फराकिलो जित हात पारेको हो । योसँगै ब्राजिलले अर्को चरणमा प्रवेशको सम्भावना बलियो बनाएको छ ।
रियो दि जेनेरियोमा भएको खेलमा ब्राजिलका लागि एलेक्स सान्द्रो, नेमार, एभर्टन रिवेइरो र रिचार्लीसनले एक एक गोल गर्नुभयो । पहिलो हाफमा एकमात्रै गोल गर्न सकेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल थपेको थियो । खेलको १२औं मिनेटमा गाब्रियल जेससले मिलाइदिएको पासमा सान्द्रोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाउनुभएको थियो । ५२औं मिनेटमा डानिलोको पासमा गाब्रियल जेससको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।
६८औं मिनेटमा नेमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पार्नुभयो । फ्रेडको पासमा नेमारले २० यार्डबाट गरेको प्रहारले जाली चुमेको थियो । ब्राजिलका लागि नेमारको यो ६८औं गोल हो । यस्तै ७३औं मिनेटमा नेमारको प्रहारलाई गोलरक्षक गाल्लेसले बचाउ गर्नुभएको थियो । ८९औं मिनेटमा सब्सिच्युट एभर्टन रिवेइरोले ब्राजिलका लागि तेस्रो गोल गर्नुभयो । रिवेइरोले नेयमार हुँदै रिचार्लीसनबाट आएको पासमा गोल गर्नुभएको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सब्सिच्युट रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को सानदार जित दिलाउनुभयो । यो जितसँगै ब्राजिलले अपराजित यात्रालाई नवौं खेलसम्म लम्ब्याएको छ । यो जितसँगै ब्राजिलले कोपा अमेरिका कपको क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।