एजेन्सी । युरोपेली च्याम्पियनसिपअन्तर्गत समूह-ए को दोस्रो खेलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै इटाली नकआउट चरणमा पुगेको छ । बुधबार राति म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक गोलको मद्दतमा इटालीले स्विट्जरल्यान्डमाथि ३-० को जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएको हो । यसअघि पहिलो खेलमा पनि इटालीले टर्कीलाई सोही गोलअन्तरले पराजित गरेको थियो ।
यस जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको दुई खेलमा ६ अंक रहेको छ । वेल्स दुई खेलमा चार अंकसहित दोस्रो स्थानमा छ । स्विट्जरल्यान्डको एक अंक छ । इटालीले समूहको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ । त्यस्तै स्विट्जरल्यान्डले अंकविहीन रहेको टर्कीसँग खेल्नेछ ।
खेलको २६औं मिनेटमा इटालीले अग्रता लिएको थियो । डोमेनिको बेरार्डीको पासमा म्यानुएल लोकाटेलीले ६ यार्ड बक्सभित्र गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । त्यसअघि इटालीका कप्तान जिओर्जियो किएलिनीले गोल गर्नुभए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएको थिएन ।
दोस्रो हाफको ५२औं मिनेटमा लोकाटेलीले निको बरेल्लाको पासमा दोस्रो गोल गर्नुभयो । ८९औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३(० को जित पक्का गर्नुभयो । उहाँले राफाएल टोलोइको पासमा गोल गर्नुभएको थियो ।
जितसँगै इटालीले पछिल्लो १० खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने सिलसिलालाई कायम नै राख्यो । यस जितसँगै इटालीको अपराजित यात्रा पनि २९ खेलमा लम्बिएको छ । इटालीले पछिल्लो १० खेलमा गोलसमेत खाएको छैन ।