एजेन्सी । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाले जोर्डनमाथि १–० को जित दर्ता गर्दै अष्ट्रेलियाले शतप्रतिशत जित कायम गरेको छ ।
अष्ट्रेलियाको जितमा डिफेन्डर ह्यारी सुटरले हेडरमार्फत् खेलको ७७औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भएको थियो । हालसम्म पाँच खेलमात्र खेल्नुभएका सुटरको यो अन्तर्राष्ट्रिय करिअरको छैटौं गोल हो ।
यस जितसँगै अष्ट्रेलियाले समूहमा शतप्रतिशत जितको नतिजासहित एसियन कपमा छनोट भएको छ । अष्ट्रेलियाको आठ खेलमा २४ अंक छ । अष्ट्रेलियाको यस जितले जोर्डन र कुवेतबीच दोस्रो स्थानका लागि पनि प्रतिस्पर्धा थप चुलिएको छ । जोर्डन १४ अंकसहित दोस्रो स्थान तथा कुवेत ११ अंकसहित तेस्रो स्थानमा छ ।
यसै समूहमा रहेको नेपाल भने समूहको चौथो स्थानमा रहने यसअघि नै पक्का भइसकेको छ । नेपालले आठ खेलमा दुई जित र ६ हारसहित ६ अंक जोडेको थियो । नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ चरण पार गर्नुपर्नेछ । नेपालसँगै पुछारको चाइनिज ताइपेइले प्लेअफ खेल्नेछ ।
यता अर्को खेलमा फरवार्ड एडु ओनाइवुको ह्याट्रिकको मद्दतमा जापानले किर्गिस्तानमाथि ५(१ को फराकिलो जित हात पारेको छ । जापानको फराकिलो जितमा एडु ओनाइवुले ह्याट्रिक पूरा गर्दा सो सासाकी र ताकुमा एसानोले समान एक गोल गर्नुभयो । किर्गिस्तानका मिर्लान मुरजाइचले एक गोल फर्काउनुभयो ।
जे लिग क्लब योकोहामा एफ मारिनोसका २५ वर्षीय फरवार्डले खेलको ३३ मिनेटभित्र नै ह्याट्रिक पूरा गर्नुभएको थियो । उहाँले सात मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्नुभएको थियो । २७औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गर्नुभएका एडु ओनाइवुले ३१ र ३३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । ४५औं मिनेटमा मिर्लान मुरजाइभले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याउनुभयो ।
त्यसपछि जापानका लागि ७३औं मिनेटमा सो सासाकी र ७७औं मिनेटमा ताकुमा एसानोले गोल गर्दै जापानलाई फराकिलो जित दिलाउनुभयो । यो जितसँगै समूह ‘एफ’ मा रहेको जापानले आठ खेलबाट आठ जित निकाल्दै २४ अंक जोडेर एसियन कपका लागि छनोट हुन सफल भएको छ । दोस्रो स्थानमा रहेको ताजिकिस्तानले १३ अंक जोड्न सफल भयो ।