काठमाडौँ । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालको अष्ट्रेलियासँग ३–० ले सम्मानजनक पराजय भएको छ । कुवेतको जाबेर अल अहमद इन्टरनेशनल स्टेडियमा गए राति (शुक्रबार) भएको खेलमा नेपालले दोस्रो हाफमा एक खेलाडी कम रहेर खेलेको थियो । त्यसका बाबजुद पनि नेपालले अष्ट्रेलियाविरुद्ध ३ गोलले मात्र पराजय व्यहोरेको हो ।
पहिलो हाफमा अष्ट्रेलियाले नेपालविरुद्ध दुई गोल गरेको थियो भने नेपालका रोहित चन्दले रातो कार्ड पाउनुभएको थियो । दोस्रो हाफमा अष्ट्रेलियाले एक गोलमात्र थप्यो । यसअघि २०१९ मा अष्ट्रेलियामा खेलेको खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।
विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा बलियो टिम अष्ट्रेलियासँग नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलअघि बताउनुभएको थियो । उहाँले अष्ट्रेलियाविरुद्धको खेलमा अघिल्लो खेलमा जोर्डनविरुद्ध खेलेका नेपाली टिममा पाँच खेलाडी परिवर्तन गर्नुभएको थियो ।
अन्जन विष्टसहित अभिषेक रिजाल, सन्तोष तामाङ, दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ, सुनिल बल, एरिक विष्ट, विशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाइमा खेल्नुभएको थियो । यस्तै अष्ट्रेलियाविरुद्ध नेपालका तीन युवा खेलाडीले डेब्यु गरेका छन् । पहिलो पटक राष्ट्रिय टिममा पर्नुभएका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले दोस्रो हाफमा मेदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गर्नुभएको हो । तीनै खेलाडी इन्जुरी टाइममा मैदान प्रवेश गरेका थिए ।