धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले ३० मत प्राप्त गर्नुभएको छ भने विपक्षमा नौ मतमात्र परेको छ ।
मुख्यमन्त्री भट्टको पक्षमा उहाँकै दल नेकपा माओवादी केन्द्रका १३ र एमालेका १७ सांसदहरुले समर्थनमा मत दिनुभएको छ । नेपाली कांग्रेसका १२ जना तटस्थ रहनुभयो ।
हाल ५२ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २५ जना प्रदेश सभा सदस्य छन् । सभामुखले मतदानमा भाग लिनुभएन ।
तीन वर्ष तीन महिनाअघि २०७४ मा एमाले र माओवादीका ३९ जना प्रदेश सभाका सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको थियो । प्रदेशसभालाई सम्वोधन गर्दै स्थायी सरकारका लागि मुख्यमन्त्री भट्टले विश्वासको मत माग्नुभएको थियो । उहाँले काम गर्ने दौरानमा भएका गल्तीलाई नियत नसम्झन आग्रह पनि गर्नुभएको थियो ।
उहाँले सुदूरपश्चिमको विकासका लागि प्रदेशसभामा भएका दलहरु एक भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँलाई एमालेका प्रमुख सचेतक दुर्गाकुमारी विक, नेकपा माओवादीका प्रमुख सचेतक अक्कल रावलले समर्थन गर्ने बताउनुभएको थियो ।
यस्तै नेपाली कांग्रेसका गोविन्द बोहराले आफ्नो दल सरकार परिवर्तनका पक्षमा नरहेको बताउनुभएको थियो । कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने अवस्थामा पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
हाल ५२ सदस्यीय प्रदेशसभामा एमालेका २५, माओवादीका १३, नेपाली कांग्रेसका १२, राजपाका दुई प्रदेश सभा सदस्य रहेका छन् । ५३ सदस्यीय प्रदेशसभामा एमाले प्रवेश गरेका कारण कारबाहीमा परेर माओवादीको एक प्रदेश सभा सदस्य रिक्त भएपछि सो संख्या ५२ भएको हो ।