भादगाउँ । शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरीय कविता प्रतियोगितामा विजयी विद्यार्थीलाई आज पुरस्कृत गरेको छ । स्व जोन्छेंको नवौँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा विजयी विद्यार्थीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
गत चैत २७ गते सम्पन्न प्रतियोगिताको दश जोड दुई र कलेजतर्फ आदर्श माविका सुष्मा तिमल्सिना प्रथम हुनुभएको थियो । उहाँले रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी द्वितीय हुने सैनिक आवासीय विद्यालयकी सुस्मिता श्रेष्ठले रु सात हजार, तृतीय हुने सैनिक आवासीय विद्यालयकै रोमिका शर्माले रु पाँच हजार र सान्त्वना पाउने सैनिक आवासीय विद्यालयका आदर्शबाबु ढकाल तथा आदर्श माविकी इन्दिरा नेपालले जनही रु तीन÷तीन हजार पुरस्कार प्राप्त गर्नुभयो ।
त्यसैगरी विद्यालयतर्फको प्रतियोगितामा प्रथम हुने महेन्द्रविद्या आश्रम माविका अपेक्षा लामाले रु पाँच हजार, द्वितीय हुने अरनिको माविका समीक्षा न्यौपानेले रु तीन हजार, तृतीय हुने मेधा माविका आयुष दङ्गाल र एमिनिटी ई स्कुलका संयोग अधिकारीले जनही रु दुई÷दुई हजार तथा सान्त्वता पुरस्कार पाउने सैनिक आवासीय विद्यालयकी श्रेया नेपाल र बालमिकेश्वर माविका प्रवेश तिमिल्सिनाले जनही रु एक एक हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
पुरस्कृत विद्यार्थीलाई प्रतिष्ठानका अध्यक्ष एवम् वाग्मती प्रदेशसभा सदस्य रजनी जोन्छेंले पुरस्कार प्रदान गर्नुभएको थियो । जोन्छेंको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुँदै आएको जिल्लाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई स्मृति दिवसको दिन पारेर नगद पुरस्कार वितरण गरिएको अध्यक्ष जोन्छेंले बताउनुभयो । प्रमाणपत्र र शिल्ड कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आएर वातावरण सहज भएपछि खुला कार्यक्रम आयोजना गरी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।