दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ । निर्धारित समय बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गर्नुभएको छ । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गर्नुभएको छ ।
अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्ने कार्य जारी छ । निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिनुभयो ।
निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहनुभएको छ । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुनुहुन्छ ।
भर्चुअलबाट मतपरिणाम सार्वजनिक हुने
लुम्बिनी प्रदेशमा आज हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिनुभयो ।
उपनिर्वाचनमा प्रदेशसभा ८३ सदस्य र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाताले मतदान गर्न पाउने छन् । आइतबार जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि प्रदेशसभामा ८३ सदस्य भएको हो ।
यसअघि ७९ प्रदेशसभा सदस्यले मतदान गर्न पाउने मतदाता नामावली सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगले आइतबार साँझ जसपाका यादव–भट्टराई समूहले कारवाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान गर्ने अधिकार दिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार केन्द्रीय निर्वाचन आयोगले जसपाबाट मन्त्री बनेका चार सदस्यलाई पनि पूरक मतदाताको अधिकार दिएको हो । यसअघि आयोगले प्रकाशित गरेको मतददाता नामावलीमा उहाँहरुको नाम थिएन ।
दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ ।