काठमाडौं । अहिले केपी शर्मा ओलीकाविरुद्धमा जस्तै अढाई दसक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत रहेको एमालेका नेता तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनु भएको छ ।
त्यतिवेला कोइरालाको तीव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल वन्दै र मुलुक वहुआयामिक द्वन्द्वको शिकार वन्न पुगेको सामाजिक सञ्जाल मार्फत मख्यमन्त्री पोखरेलले स्मरण गर्नु भएको छ । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले नेता कोइरालाकै खोजी गर्नु परेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अहिले नेपाली राजनीति पुनः त्यही बाटो हिड्न लागिरहेको भान भइरहेको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीका विरुद्धमा पार्टी भित्र र वाहिरका शक्तिहरु जसरी एक ठाउँ उभिएका छन् त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसले नगरेको बताउँदै मुख्यमन्त्री पोखरेलले वरु प्रमुख नेताहरुको वढ्दो घेरावन्दीले ओलीप्रति नै सर्वसाधारणको सहानुभूती वढ्दो रहेको दावी गर्नु भएको छ ।
आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र वुझिरहेको बताउँदै उहाँले यसबाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएको आरोप पनि लगाउनु भएको छ ।
दलिय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित रहेको उहाँको तर्क छ । त्यस्तो अवस्थामा विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउँदै उहाँले समयमै आफ्नै इतिहासबाट शिक्षा लिएर सही बाटोमा अघि बढनुपर्ने सुझाव दिनु भएको छ ।